वास्तुशास्त्रलाई सामान्य अर्थमा वास बस्न योग्य स्थानसम्बन्धी अध्ययन गरिने शास्त्र भन्ने बुझिन्छ। वास्तुमा हामी दिशालाई सबैभन्दा बढी महत्त्व दिन्छौं। हामी कोही व्यक्ति गलत बाटोमा हिँडेको पाइएमा त्यसलाई सही दिशामा हिँडेन भन्छौं। त्यसकारण दिशाले दशाको निर्धारण गर्छ भनिन्छ । यहाँ दशा भन्नाले समय भन्ने बुझ्नुपर्छ ।
उत्तरपूर्व दिशा उत्तर (० डिग्री) र पूर्व (९० डिग्री) को बीचमा अवस्थित ४५ डिग्रीको आसपासको क्षेत्रलाई हामी उत्तरपूर्व दिशा भन्दछौँ।
जसलाई इशान कोण भनिन्छ। ईशान कोणमा घरमा ईश्वरको बास हुन्छ भन्ने कुरामा परम्परागत तथा मोर्डन वास्तुविदहरूको एक मत पाइन्छ। यो स्थान मन्दिरको लागि सबैभन्दा उपयुक्त स्थान हो। हामी वास्तुमा यो स्थानलाई स्पष्टता र प्रज्ञा (insight) को दिशा अथवा (Zone of clarity )भन्दछौ ।
यो स्थानमा ध्यान तथा पूजाको लागि विशिष्ट महत्व राख्दछ। यो ठाउँमा भारी सामानहरु, फोहोर, भान्सा तथा शौचालय जस्ता कुराहरु राख्नु हुँदैन यो स्थानको ऊर्जाले हामीलाई सकारात्मक सोच दिने काम गर्छ। त्यही सकारात्मक सोच नै जीवनको प्रगति र उन्नतिको लागि आवश्यक हुन्छ।
वास्तुमा ९० प्रतिशत सम्म वास्तु दोषको उपचार गर्न सकिन्छ । तर उत्तरपूर्वको शौचालय र भान्साको कुनै पनि वास्तुउपचार छैन। यसलाई त्यो स्थानबाट हटाउनैपर्छ। अब यो स्थानमा शौचालय र भान्सा भए के हुन्छ भन्ने जिज्ञासा सबैमा हुनु स्वभाविकै हो। यदि यो स्थानमा शौचालय भएमा त्यस घरमा बस्ने व्यक्तिहरूमा असाध्य रोग अथवा ठूलो रोग लाग्न सक्छ त्यस्तै यो स्थानमा भान्सा भएमा त्यस घरमा बस्ने व्यक्तिको दिमाग तातिरहने एक प्रकारको तनावको वातावरण बनिरहन्छ किनभने इशानकोणलाई वास्तु पुरुषको टाउको भनिन्छ त्यसकारण त्यस स्थानमा गरिने कार्यहरूले त्यस घरमा बस्ने मान्छेहरूको मनस्थितिलाई प्रत्यक्ष असर पार्दछ। यो स्थानमा खराबी देखिएमा सो स्थानमा बस्ने मानिस भ्रममा रहने हुन्छ ।
यो एक प्रकारले हाम्रो दिमाग रहेको ठाउँ अथवा टाउकोमा ती गतिविधिहरु गर्दा जस्तो असर हामीलाई हुन्छ वास्तु पुरुषको शिर भएको ठाउँमा ती कार्यहरु गर्दा त्यहाँको ऊर्जा बिग्रिन गई हामीहरुलाई पनि त्यस्तै असर पुग्न जान्छ ।
यो स्थानमा रातो रङ प्रयोग पनि नगर्न सुझाव दीइन्छ। त्यस्तै अग्नि (Fire) सम्बन्धित कुनै पनि कार्यहरू यो स्थानमा प्रयोग गर्न हुँदैन। किनभने यो जलतत्वको दिशा हो। यो प्रज्ञाको दिशा हो। यो स्थान ध्यानको लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यसकारण यस स्थानलाई सफासुग्घर राख्नु अत्यन्त आवश्यक हुन्छ। यो स्थानमा निलो तथा हरियो रङ लगाउनु उपयुक्त हुन्छ । यो स्थानलाई खुला राख्नु अथवा बैठक कोठा (leaving Room) बनाउन सुझाव दिइन्छ । ईशानकोणमा भारी सामान राख्नु हुदैन ।
अब वास्तुपुरुष भनेको के हो भन्ने विषयमा जान्ने इच्छा सबैलाई हुनसक्छ जसमा वास्तुशास्त्रको सुरुवातमा एउटा कथा आउँछ। देवता र असुरको बीचमा युद्ध भइरहेको थियो। जसमा असुरको तर्फबाट अन्धकासुर र देवताको तर्फबाट भगवान शिवले युद्ध गर्दै हुनुहुन्थ्यो यही युद्धमा भगवान शिव र अन्धकासुरको पसिनाको केही थोपा जमिनमा खस्यो। जसबाट एउटा अत्यन्त बलशाली र विराट स्वरूप भएको पुरुषको उत्पत्ति भयो। जसलाई देखेर देवता र असुर दुवै भयभित भए देवतालाई लाग्यो कि यो कुनै असुर हो त्यस्तै असुरलाई लाग्यो कि यो कुनै देवता हो। यो अवस्थामा युद्ध रोकियो। त्यसपछि असुर र देवता ब्रह्माजी कहाँ गए ब्रह्माजीले यो पुरुषलाई आफ्नो मानसपुत्रको संज्ञा दिनुभयो र यसको नाम वास्तुपुरुष राखिदिनुभयो।
यो वास्तु पुरुष उँधो मुन्टो लगाएर सुत्नुभयो र त्यस वास्तु पुरुषको शरीरका अङ्गमा केही भागमा देवताहरुले र केही भागमा असुरहरुले बास गरे त्यसपछि ब्रह्माजीले आदेश दिनुभयो कि कुनै भवन, नगर, तलाउ, मन्दिर आदिको निर्माण गर्दा वास्तु पुरुषलाई ध्यानमा राखेर काम गर्नु नगरेमा असुरहरुले भोजन गर्नेछन्। अर्थात आसुरी प्रवृत्तिको शिकार हुनुपर्नेछ। त्यस्तै वास्तुपुरुषलाई ध्यानमा राखेर कार्य गरेमा देवताहरू सहायक सिद्ध हुनेछन्।
यो कथालाई प्रतीकको रुपमा बुझ्नुपर्ने हुन्छ। देवता भन्नाले स्वयं प्रकाशमान हो। कुनै एउटा यस्तो शक्ति जुन कुनै विशेष कार्यको लागि सहायक सिद्ध तत्व हुन सक्छ। त्यो नै देवत्व हो। हामी कुनै पनि कार्यको जुन आफ्नो र अरुको हित गर्ने हिसाबले गर्ने चाहना राख्दछौ। यो चाहनाको सकारात्मक ऊर्जा नै देवता अर्थात देवतत्व हो। तर अचानक हामीमा एक किसिमको द्वन्द (कन्फ्लिक्ट) पैदा हुन्छ। यो कसरी गर्ने, यसो भयो भने के हुन्छ, यसले नोक्सान हुन सक्छ जस्ता विचार आउँछ। यो डर र अज्ञान नै असुरतत्त्व हो। असुरको अर्थ सुरमा नभएको अर्थात प्रकृतिमा लयबद्ध नभएको हुन्छ।
यहाँ असुरतत्व भन्नाले डर, द्वन्द, नकारात्मक विचार,अन्धकार वा अज्ञानको प्रतिको प्रतीक हो त्यस्तै देवतत्व भन्नाले प्रकृतिमा लयबद्ध, कार्यमा सहायक तथा सकारात्मक विचारको प्रतिक हो।
अब माथिको कथामा भनिएको अन्धकासुर भनेको सम्पूर्ण अज्ञान अन्धकार र भगवान शिव भनेको परम चेतना अथवा चेतनाको परम स्तर भन्ने बुझ्नुपर्छ। प्रत्येक व्यक्तिभित्र यो युद्ध हरेक क्षण चलिरहेको हुन्छ। अथवा मानसिक लेभलमा नकारात्मक र सकारात्मक युद्ध चलिरहेको हुन्छ। र पसिनाको थोपाको संकेतको रुपमा हामीले सम्पूर्ण प्रयास अथवा (टोटल इफोर्ट) भन्ने बुझ्नुपर्छ र यो प्रयास सकारात्मक भएमा कार्य सफलतापूर्वक सम्पन्न हुन्छ । त्यसकारण घर, कार्यालय लगायतका स्थानमा वास्तुदोष निवारण गर्नु अवास्यक हुन आउछ । आजको समयमा घरको विनातोडफोड ९५ प्रतिशत सम्म विभिन्न उपचार द्धारा वास्तुदोष निवारण गर्न सकिन्छ ।
लेखकः मनेश घिमिरे
धुलिखेल, काभ्रे